काठमाडौँ । विशेष अदालत ले विज्ञापन नै नछापी पत्रिकामा सूचना प्रकाशित भएको देखाएर सरकारी रकम भुक्तानी लिएको प्रकरणमा तीन जनालाई दोषी ठहर गरेको छ।
अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले मंगलबार फैसला सुनाउँदै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाराका तत्कालीन प्रमुख किशोरी प्रसाद यादव, सान्दर्भिक मिडिया नेटवर्कका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोष राज खरेल लाई जनही ३ महिना कैद तथा ७९ हजार १४२ रुपैयाँ ५० पैसा जरिवाना हुने निर्णय गरेको हो।




अदालतले बिगो बराबरको बाँकी रकम राजस्वमा दाखिला गर्न तथा अपराध पीडित संरक्षण ऐनअनुसार थप क्षतिपूर्ति शुल्कसमेत कोषमा जम्मा गर्न आदेश दिएको छ।
यसै मुद्दामा प्रतिवादी बनाइएका प्रदीप दास लाई भने सफाइ दिइएको छ। कार्यालय प्रमुखको निर्देशनअनुसार काम गरेको र अन्य प्रतिवादीसँगको मिलेमतो पुष्टि हुन नसकेको आधारमा उनलाई निर्दोष ठहर गरिएको अदालतले जनाएको छ।
के थियो प्रकरण?
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाराका तत्कालीन प्रमुख यादवले २०७९ फागुन १८ गते बोलपत्र आह्वानको सूचना प्रकाशनका लागि सान्दर्भिक मिडिया नेटवर्कलाई पत्राचार गरेका थिए। तर उक्त सूचना ‘प्रभाव दैनिक’ मा प्रकाशित भएको झुठो विवरण तयार गरी २०७९ फागुन २१ गतेको अंक देखाउँदै ३ लाख १६ हजार ५७० रुपैयाँ भुक्तानी लिइएको अनुसन्धानबाट खुलेको थियो।




