बिरगंज । मौसम प्रतिकुल बन्दै गएपछि पर्सा र बारा जिल्लाका अधिकांश क्षेत्रमा अन्धकार छाएको छ।
आइतबार बिहानैदेखि परेको वर्षा र हावाहुरीका कारण आकाशमा बाक्लो बादल लागेर वातावरण अँध्यारो बनेको हो।

पर्साको वीरगञ्ज, पोखरिया, बहुदरमाई लगायतका क्षेत्र तथा बाराको कलैया, जितपुरसिमरा, कोल्हवी लगायत स्थानमा बिहानै अन्धकारमय अवस्था देखिएको स्थानीयले बताएका छन्।
लगातारको वर्षा र खराब मौसमका कारण जनजीवन प्रभावित भएको छ ।
हाल दुवै जिल्लाका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने मौसम अझै खराब रहने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार वर्षासँगै चट्याङ पर्ने सम्भावना पनि रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
चट्याङको जोखिमलाई ध्यानमा राख्दै खुला स्थानमा नबस्न, रुखमुनि आश्रय नलिन तथा विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।


