सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङ परेर भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। घटनामा एक जना व्यक्ति घाइते भएका छन् भने पशुधन र खाद्यान्न सामग्री जलेर नष्ट भएका छन्।
शनिबार राति करिब ११:३० बजे परेको चट्याङपछि स्थानीय रामस्वरुप रायका छोरा करिब ६० वर्षीय सिताराम यादव घाइते भएका हुन्। चट्याङ लागेर यादवको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ र उपचार भइरहेको छ।
चट्याङसँगै सुरु भएको आगलागीले यादवको घर र गोठ पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। आगोमा ५ वटा भैंसी र ९ वटा बाख्रा जलेर मरेका छन् भने एउटा पाडा घाइते भएको छ।
त्यसैगरी घरभित्र राखिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मसुरो दालसहित भाँडाकुँडा र लत्ताकपडा समेत पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले घटनापछि क्षतिको विवरण संकलन तथा थप अनुसन्धान भइरहेको जनाएको छ।


