बारा । मधेस प्रदेश प्रहरीभित्र आर्थिक लेनदेन, तस्करी सेटिङ र आन्तरिक शक्ति संघर्षको विवाद झन् चर्किएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणामाथि गरिएको निलम्बन सिफारिसलाई प्रहरी प्रधान कार्यालयले तत्कालका लागि रोकेको स्रोतले जनाएको छ।

प्रारम्भिक अध्ययनमा थप प्रमाण आवश्यक देखिएपछि हतारमा कारबाही नगर्ने निर्णय भएको हो। यससँगै राणालाई योजनाबद्ध रूपमा फसाउने प्रयास असफल भएको चर्चा प्रहरी वृत्तमा छ।
विवादित अडियो प्रकरणपछि नाम जोडिएका वरिष्ठ सई गोपाल थापा मगर र सई जायलाल यादवलाई प्रहरी मुख्यालय तानिएको छ। उनीहरूमाथि आर्थिक लेनदेन र कमान्डबाहिर प्रभाव प्रयोग गरेको आरोपमा छानबिन सुरु गरिएको बताइएको छ।
यता मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियामाथि पनि आफ्ना निकटस्थमार्फत तस्करी सेटिङ मिलाएको आरोप लागेको छ। यद्यपि उनले आरोप अस्वीकार गर्दै सत्यतथ्य छानबिनबाट बाहिर आउने बताएका छन्।
घटनाले मधेस प्रदेश प्रहरीभित्र गम्भीर आन्तरिक द्वन्द्व सतहमा ल्याएको छ भने प्रहरी प्रधान कार्यालयले अडियो परीक्षणदेखि आर्थिक कारोबारसम्मको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


