कोल्हबी, बारा । नेकपा (एमाले) कोल्हबीभित्र पछिल्लो समय बढ्दै गएको असन्तुष्टि, अवसर वितरणमा देखिएको पक्षपात र निर्वाचित जनप्रतिनिधिहरूको कार्यशैलीका कारण पार्टीको संगठनात्मक अवस्था कमजोर हुन सक्ने चिन्ता कार्यकर्ताहरूले व्यक्त गर्न थालेका छन्।
पार्टीभित्र योगदान र निष्ठाभन्दा व्यक्तिगत सम्बन्ध तथा स्वार्थलाई प्राथमिकता दिइएको आरोप बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर संगठनमा देखिन थालेको बताइन्छ।




स्थानीय कार्यकर्ताहरूका अनुसार एमालेबाट केन्द्र, प्रदेश, स्थानीय तह तथा वडा तहमा निर्वाचित भएका केही पुर्व तथा तत्कालीन जनप्रतिनिधिहरू चुनावपछि पार्टीका सामान्य कार्यकर्ताबाट टाढिँदै गएको गुनासो व्यापक रूपमा सुनिन थालेको छ।
निर्वाचनका बेला कार्यकर्ताको साथ खोज्ने तर निर्वाचित भएपछि उनीहरूकै भावना र समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले पार्टीभित्र निराशा बढाएको बताइन्छ।
पार्टीका केही कार्यकर्ताहरूको भनाइमा जनप्रतिनिधिहरूले आफ्ना नजिकका व्यक्ति, आफन्त वा व्यक्तिगत सम्बन्ध भएका व्यक्तिहरूलाई बढी प्राथमिकता दिने गरेका छन्। विकास निर्माण, सिफारिस, नियुक्ति तथा विभिन्न अवसरका विषयमा समेत सीमित घेराभित्रका व्यक्तिहरूलाई मात्र लाभ पुग्ने गरेको आरोप कार्यकर्ताहरूले लगाएका छन्। यसले लामो समयदेखि पार्टीका लागि खटिएका कार्यकर्ताहरूमा अन्यायको अनुभूति बढाएको छ।
कार्यकर्ताहरूका अनुसार पार्टीको शक्ति भनेकै तल्लो तहका कार्यकर्ता हुन्। तर पछिल्लो समय वडा, नगर, प्रदेश र केन्द्र तहसम्म नेतृत्व तथा जनप्रतिनिधिहरूले कार्यकर्ताको भावना बुझ्न नसक्दा संगठनभित्र दूरी बढ्दै गएको छ। “चुनावमा पार्टी जिताउन रातदिन खटिने कार्यकर्ता उपेक्षित हुने र अवसरमा पहुँचवालाहरू मात्रै अगाडि आउने अवस्था रहिरहे पार्टी कमजोर हुनु स्वाभाविक हो,” एक स्थानीय कार्यकर्ताले बताए।
कोल्हबी क्षेत्रमा एमालेको संगठन विगतमा बलियो मानिए पनि पछिल्ला वर्षहरूमा देखिएको आन्तरिक असन्तुष्टि, गुटगत प्रभाव र अवसर वितरणको विवादले पार्टीको जनाधारमा असर पार्न सक्ने विश्लेषण हुन थालेको छ। विशेषगरी युवापुस्ता र सक्रिय कार्यकर्ताहरूमा बढ्दो निराशाले भविष्यमा संगठनलाई थप चुनौती सिर्जना गर्न सक्ने देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दलमा निर्वाचित जनप्रतिनिधिहरूको व्यवहारले पार्टीको छवि निर्माण वा ध्वस्त पार्न महत्वपूर्ण भूमिका खेल्छ। यदि जनप्रतिनिधिहरू जनतासँगै आफ्नै कार्यकर्ताप्रति पनि उत्तरदायी बन्न सकेनन् भने त्यसको असर आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा देखिन सक्छ।
कोल्हबीमा एमालेभित्र देखिएको असन्तुष्टि तत्कालै ठूलो संकटका रूपमा नदेखिए पनि समयमै सम्बोधन नभए यसले संगठनात्मक एकता, कार्यकर्ताको मनोबल र जनविश्वासमा गम्भीर असर पार्न सक्ने चिन्ता पार्टीभित्रै व्यक्त हुन थालेको छ। कार्यकर्ताहरूले नेतृत्व र जनप्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्दै निष्पक्ष, पारदर्शी र कार्यकर्तामैत्री व्यवहार अपनाउन आग्रह गरेका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टि र स्वार्थकेन्द्रित राजनीतिक संस्कारलाई समयमै नियन्त्रण गर्न नसके एमाले कोल्हबीले आगामी निर्वाचनमा संगठनात्मक तथा राजनीतिक रूपमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।






