काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ।


विशेषगरी कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने विभागले जनाएको छ। प्रि–मनसुन सक्रिय भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिम पनि रहेको मौसमविद्ले बताएका छन्।
आज रातिसम्म देशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। बिहीबारदेखि भने मौसममा केही सुधार आउने अनुमान गरिएको छ।


