सिरहा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिरहा–२ को राजनीतिक माहोल झनै तातिएको छ। यसैबीच शिव यादवले आफ्नो घरदैलो अभियानलाई असाधारण गतिमा अघि बढाउँदै चुनावी मैदानमा स्पष्ट उपस्थिती देखाएका छन्।
निर्वाचन हुन अब करिब एक साता मात्र बाँकी रहँदा शिव यादव बिहानैदेखि साँझ अबेरसम्म गाउँ–टोल, चोक–चौतारा र बस्ती–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले उनको अभियानलाई थप ऊर्जा दिएको देखिन्छ।
स्थानीय मतदाताहरूका अनुसार “पहिलो पटक कुनै उम्मेदवार यसरी घर–घरमै पुगेर समस्याको सूची बनाइरहेका छन्।” यादवले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि अनुदान तथा सडक पूर्वाधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।
सिरहा–२ मा प्रतिनिधि सभा निर्वाचनका लागि अन्य प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरू पनि सक्रिय रूपमा मैदानमा छन्। राम चन्द्र यादव नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका छन् भने नवीन कुमार यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, मुक्ति नारायण सिंह नेपाल कम्युनिस्ट पार्टी बाट उम्मेदवारी दिएका छन्। यी सबै उम्मेदवारहरू आ–आफ्नो एजेन्डा र चुनावी रणनीतिसहित मतदाता माझ पुगिरहेका छन्।
यद्यपि पछिल्ला दिनहरूमा देखिएको जनलहर र सामाजिक सञ्जालमा देखिएको सक्रिय समर्थनका कारण शिव यादवको अभियानले अन्य उम्मेदवारलाई दबाबमा पारेको विश्लेषकहरू बताउँछन्।
शिव यादवले आफ्नो सम्बोधनमा बारम्बार “पुरानो शैलीको राजनीति अन्त्य गरी पारदर्शी र जवाफदेही नेतृत्व” दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
स्थानीय बुद्धिजीवीहरूका अनुसार सिरहा–२ मा यसपटकको चुनाव त्रिकोणात्मक देखिए पनि पछिल्ला दिनहरूमा शिव यादवको घरदैलो अभियानले चुनावी समीकरणमा नयाँ मोड ल्याएको छ।