नवीन चौधरी, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित श्री जनता माध्यमिक विद्यालय ककडी प्रसौनामा शिक्षक नियुक्तिलाई लिएर विवाद चर्किएको छ। विद्यालयका प्रधानाध्यापक चन्द्र देव कुस्वाहा माथि आफ्नै छोरा मुकेश प्रसाद कुस्वाहालाई राजनीतिक पहुँच र प्रभाव प्रयोग गरी नियुक्ति गराएको आरोप स्थानीय तथा अभिभावकहरूले लगाएका छन्।
स्थानीयहरूको दाबी अनुसार विद्यालयमा कार्यरत शिक्षकलाई दबाब सृजना गरि छाडेर जान बाध्य बनाएका थिए । त्यस पश्चात प्रधानाध्यापक कुस्वाहाले आफ्नै छोरालाई नियुक्त गराएका हुन्। यस घटनाले विद्यालयभित्र राजनीतिक पक्षधरता, आफन्तवाद तथा प्रशासनिक दुरुपयोग बढेको आरोपसमेत उठेको छ।




विद्यालयमा नेकपा एमाले निकट शिक्षकहरूलाई विभिन्न बहाना बनाएर पाखा लगाउने र नेपाली कांग्रेस निकट व्यक्तिहरूलाई अवसर दिने गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्। विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा समेत राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना भइरहेको छ।
अभिभावकहरूका अनुसार विद्यालयमा शैक्षिक गुणस्तर खस्किँदै गएको छ। हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विद्यालयबाट सहभागी ६१ विद्यार्थीमध्ये केवल ४ जना मात्र उत्तीर्ण भएपछि विद्यालय प्रशासनमाथि थप प्रश्न उठेको हो। स्थानीयहरूको भनाइमा विद्यालय नेतृत्व शैक्षिक सुधारभन्दा राजनीतिक प्रभाव विस्तारमा केन्द्रित भएको देखिन्छ।
कोल्हबी नगर भित्रका बिद्यालयमा अनुगमनकर्ताको रुपमा रहेका कुस्वाहाले आफ्नै बिद्यालयको गुणस्तर खस्किदै गरेको हेर्न सकेका छैनन् । “अरुको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैंसी पनि नदेख्ने भने झै विद्यार्थीको शिक्षा बारे योजना बनाउन असफल रहेको प्रमाणित भएको छ । बिद्यालयमा आफ्नो साम्राज्य खडा गर्नका लागि आफ्नो छोरालाई नियुक्ति दिएको स्थानीयले आरोप लगाएका छन् ।
तर माध्यमिक कक्षा ११ र १२ को लेखा बिषय पढाउनका लागि नियुक्ति गरिएका छोराले अब कसलाई पढाउला ? एसईईमा त ४ जना विद्यार्थी मात्रै उतिर्ण भएका छन् । आफन्तलाई पालन पोषणको लागि गरिएको नियुक्ति हो भने यसरी सरकारको ढुकुटी रित्याएर तलब खुवाउन पनि पाप सरह नै हो एक अभिभावक मनोज चौधरीले बताए ।
जानकारहरूका अनुसार कोल्हबी ६ का वडा अध्यक्ष दिनेश प्रसाद चौधरीको पहलमा कुबेर चौधरीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको छ। शिक्षा ऐन र नियमावलीलाई पाखा लगायर नगर प्रमुख राम प्रसाद चौधरीले आफ्नै ” शिक्षा ऐन स्थानीय तह” बनाएको खुलासा भएको छ । र सोही नियमावली प्रयोग गरेर आफ्नो कार्यकर्ता भर्ती गरेको कुरा बाहिरिएको हो । यस विषयमा समेत स्थानीय स्तरमा प्रश्न उठिरहेको छ।
सरकारले कर्मचारीलाई समाजिक संजालमा लाइक र कमेन्ट गर्न रोक लगाएको छ । तर यसैबीच सामाजिक सञ्जालमा प्रधानाध्यापकका छोरा कुस्वाहाले समाचारप्रति टिक्का टिप्पणी सहितको प्रतिक्रिया दिएको भन्दै आलोचना भएको छ।
अभिभावकहरूले विद्यालय जस्तो संवेदनशील क्षेत्रसँग जोडिएका शिक्षक तथा कर्मचारीले सामाजिक सञ्जालमा मर्यादित व्यवहार गर्नुपर्ने बताएका छन्।
स्थानीयको आरोप अनुसार विद्यालय समयमा टिकटक बनाउने, सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने तथा शैक्षिक गतिविधिप्रति गम्भीर नदेखिने प्रवृत्तिका कारण नगरस्तरीय तथा माध्यमिक तहको नतिजा कमजोर बन्दै गएको हो।
यस विषयमा बारा क्षेत्र १ का सांसद गणेश धिमालका स्वकीय सचिव हरिओम रौनियारले ध्यानाकर्षण भएको बताएका छन्। उनका अनुसार गणेश धिमाल सँग छलफल गरेर आवश्यक कदम चालिनेछ।
यद्यपि, विद्यालय प्रशासन वा प्रधानाध्यापक चन्द्र देव कुस्वाहाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आरोपबारे सम्बन्धित पक्षको धारणा आउन बाँकी रहेको छ ।
तर यस बिषयमा सांसद धिमाल र नगर प्रमुख आफ्नै भौतिक उपस्तिथिमा सर्व दलिय समाजसेवीको रोहबरमा अनुसन्धान गर्न जनसमुदायले माग गरेका छन् ।






