नवीन चौधरी, कोल्हबी । गर्मी बढेसँगै कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रमा विद्युत आपूर्तिमा देखिएको समस्या समाधानको माग गर्दै सरोकारवालाहरूले नेपाल विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रमा ध्यानाकर्षण गराएका छन्।
पछिल्लो समय पटक–पटक लाइन कट्ने, लामो समयसम्म विद्युत अवरुद्ध हुने तथा भोल्टेज नआउने समस्याले स्थानीयवासी हैरान भएका छन्। यस्ता समस्याको दीर्घकालीन समाधान गर्न, छिटो सव–स्टेसन निर्माण गर्न तथा थलहीकट्टीदेखि सपहीसम्मको लाइन चाँडो जडान गरी विद्युत विस्तारलाई तीव्रता दिन टोलीले प्राधिकरणसमक्ष माग राखेको हो।
ध्यानाकर्षण कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनाली,सुर्योदय खानेपानी उपभोक्ता समितिका अध्यक्ष नेत्र प्रसाद पौडेल, नवदिप सामुदायिक विद्युत उपभोक्ता समिति सपहीका अध्यक्ष रवि प्रकाश भण्डारी, सदस्यहरू रोहित सुवेदी, रुद्र दङ्गाल र जयराम उप्रेती सहभागी थिए। त्यसैगरी कर्मचारी टेकनाथ थपलिया, नमुना माध्यमिक विद्यालय सपहीका अध्यक्ष गोपाल शिवाकोटी, युवा समाजसेवी दिपेन्द्र (रसिक) सुवेदी तथा समाजसेवी गणेश थापा लगायतको उपस्थिति रहेको थियो।




स्थानीयका अनुसार हरेक वर्ष गर्मी सुरु हुनासाथ उही समस्या दोहोरिने गरेको छ, तर प्राधिकरणले सुधारका लागि ठोस काम नगरेको आरोप छ। “जनता अँध्यारोमा बस्न बाध्य छन्, तर जिम्मेवार निकाय गम्भीर छैन,” एक स्थानीयले आक्रोश पोखे।
टोलीले विद्युत समस्याका कारण दैनिक जीवन, व्यवसाय तथा अध्ययन–अध्यापनमा समेत असर परेको उल्लेख गर्दै यथाशीघ्र ठोस पहल गर्न प्राधिकरणसँग आग्रह गरेको छ।




