कलैया । बाराको सीमावर्ती नाकाबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको लागुऔषध गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेपछि नेपालतर्फको सुरक्षा निगरानीमाथि प्रश्न उठेको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बिओपी झरोखर चेकपोस्ट नजिक झरोखर गाउँ आसपासको नो म्यान्स ल्याण्ड क्षेत्रमा शंकास्पद सवारी रोकेर जाँच गर्दा ३० किलोभन्दा बढी गाँजा फेला पारेको हो।


बीआर ०५ पी ७३१८ नम्बरको टाटा सफारी गाडी भारत प्रवेशका लागि लाइनमा उभिएको अवस्थामा शंका लागेपछि जाँच गर्न खोजिएको थियो। त्यसै क्रममा चालक गाडी छाडेर फरार भएको भारतीय पक्षले जनाएको छ।
पछि गरिएको विस्तृत तलासीमा गाडीभित्र प्लास्टिकका प्याकेटमा लुकाइराखिएको ठूलो परिमाणको गाँजा भेटिएको एसएसबीका सहायक कमान्डेन्ट विश्वजित तिवारीले जानकारी दिएका छन्। गाडीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत फेला परेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा नेपालतर्फ मकवानपुरबाट बारा हुँदै सीमासम्म ल्याइएको हुन सक्ने अनुमान गरिएको छ।
सीमावर्ती क्षेत्रमा नेपालतर्फबाट सुरक्षाकर्मीको निगरानी हुँदाहुँदै पनि लागूऔषध सहजै सीमासम्म पुग्नु र भारतीय सुरक्षाकर्मीले मात्र नियन्त्रणमा लिनु गम्भीर विषय बनेको छ। यसले सीमाक्षेत्रमा भइरहेको तस्करी नियन्त्रण र सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयवासीले बताएका छन्।
घटनापछि फरार चालकको खोजी तीव्र पारिएको भारतीय प्रहरीले जनाएको छ।


