काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री हालैको एक सार्वजनिक भाषणमा निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई ‘बेकुफ मन्त्री’ भनी टिप्पणी गरेपछि तीब्र आलोचनाको सामना गर्दैछिन्।
झाँक्रीले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई लक्षित गर्दै भनिन्, “एउटा बेकुफ मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ, चुनाव गराउन हिँडेको। गरिखान धौ भएर मागिखान हिँड्ने मान्छेहरूको तरिका हो यो। गरिखान गाह्रो भएपछि मागिखान धेरै गाह्रो छ।” उनले थपिन्, “नेपालमा भयंकर समाजसेवीहरू आए, कसैले घर बनाइदिए, उद्योग बनाइदिए, रंगशाला बनाइदिए। जहाँ कला र गला बिक्न छोड्छ अनि मागिखान हिँड्ने हो।”
सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा झाँक्रीविरुद्ध व्यापक टिकाटिप्पणी र आलोचना सुरु भएको छ। स्वयं महावीर पुनले पनि फेसबुकमा प्रतिक्रिया जनाउँदै झाँक्रीको टिप्पणीको कडा आलोचना गरेका छन्।
उनले लेखे, “एमालेमा यस्तै यस्तै कुबुद्धि भएका हावा नेताहरू निस्के भने एमाले सिद्धिएर जान्छ। आफूले नै गरिखान नसकेपछि हावा गफ गर्ने, अरूलाई गालीगलौज गर्ने र आफूभन्दा जान्ने कोही छैन भन्ने एमालेका साथीहरूलाई मेरो सुझाव—तपाईंहरूभन्दा सत्बुद्धि भएका अरू मान्छेहरू पनि नेपालमा छन्। तपाईंहरूलाई जनताले चिनिसकेका छन्। एमालेका नेताहरूलाई भगवानले सत्बुद्धि दिऊन्।”
भिडिओ अहिले पनि सामाजिक सञ्जालमा सेयर भइरहेको र आलोचना गर्नेलाई प्रेरित गरिरहेको छ।
झाँक्रीले हालै नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्केकी हुन् र केन्द्रीय सदस्यका रूपमा पनि निर्वाचित भइसकेकी छन्। यसअघि उनले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै पार्टी छोडेकी थिइन्। तर पुरानो पार्टीमा फर्केपछि उनी ओलीको प्रशंसा र अन्य नेताहरूको आलोचना गर्ने प्रवृत्तिमा देखिएकी छन्।
यो घटनाले राजनीतिक अभिव्यक्तिको सीमा र सामाजिक सञ्जालमा त्यसको प्रभावलाई पुनः उजागर गरेको छ।