काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएकी छन्। हाल उनी पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको जिम्मेवारीमा समेत रहेकी थिइन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएकी छन्।
शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र इमानदार र प्रतिबद्ध व्यक्तिहरूको उचित मूल्यांकन नभएको गुनासो गरेकी छन्। साथै, उनले पार्टीका केही निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको आरोप लगाएकी छन्। यस्ता गतिविधिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्य–मान्यतामा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले त्यसको साक्षी बनेर बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएकी छन्।
उनको भनाइअनुसार पार्टीभित्र देखिएको अपारदर्शिता र निर्णय प्रक्रियामा देखिएको विचलनले आफूलाई गम्भीर रूपमा निराश बनाएको छ। ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको अवस्था देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा आँच पुग्ने परिस्थिति सिर्जना भयो,’ विज्ञप्तिमा उल्लेख छ। उनले यही कारणले आजकै मितिदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने निर्णय लिएको स्पष्ट पारेकी छन्।
यसअघि पनि उम्मेदवार चयन तथा टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरेका थिए। पछिल्लो घटनाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि पुनः सतहमा आएको विश्लेषण गरिएको छ। शर्माको राजीनामाले मधेश प्रदेशमा पार्टी संगठनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।