सिरहा | भारतीय बजारबाट वर्षौंदेखि खाद्यान्न तथा सरसामान ढुवानी गरेर जीविकोपार्जन गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूले स्थानीय प्रशासनले सो काममा प्रतिबन्ध लगाएपछि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्ना दिँदै अनशन सुरु गरेका छन्।
उनीहरूले ‘कि त दे, कि गरि खान दे’ भन्ने नारासहित दुई बुँदे माग अघि सारेका छन्। मागमा भन्सारबाट सामान ओसारपसारका लागि विशेष सहजीकरणको व्यवस्था गर्नुपर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको परिवारबाट कम्तीमा एक जनालाई रोजगारीको सुनिश्चितता गरिनुपर्ने उल्लेख छ।
सिरहा नगरपालिका–७ का ४२ वर्षीय लक्ष्मेश्वर कामतीले वर्षौंदेखि भारतीय बजारबाट सामान ढुवानी गर्दै आएको र त्यसबाट प्राप्त आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएको बताए। “थोरै भए पनि राष्ट्रको नाममा भन्सार महसुल तिर्ने गरेका थियौँ,” उनले भने, “प्रशासनले तोकेका शर्त पालना गर्दा गर्दै पनि अहिले काम गर्न अवरोध सिर्जना गरिएको छ।” काम रोकिएपछि परिवार चलाउनै कठिन भएको उनको गुनासो छ।
यस्तै पीडा सिरहा नगरपालिका–३ का प्रमोद महराले पनि सुनाए। “अपाङ्ग हुनु र गरिब हुनुमा मेरो के दोष छ?” उनले भने, “गरिब भएकै कारण पटक–पटक हेपिएको महसुस हुन्छ।” राज्यले समानताको कुरा गरे पनि व्यवहारमा आफूहरू तिरस्कृत भइरहेको उनको भनाइ छ।
धर्नामा बसेकाहरूका अनुसार आठ दिनदेखि सार्वजनिक रूपमा आन्दोलन जारी राख्दा पनि सरोकारवाला निकायबाट चासो नआएको उनीहरूको आरोप छ। जीविकोपार्जनको वर्षौंदेखिको आधार खोसिँदा वैकल्पिक व्यवस्था नहुँदा चरम समस्यामा परेको उनीहरू बताउँछन्।
जानकारहरूका अनुसार परिवर्तन, गरिबी न्यूनीकरण र समानताको नारा बारम्बार उठे पनि कार्यान्वयन प्रभावकारी नहुँदा अपाङ्गता भएका तथा विपन्न समुदायका नागरिकहरू निरन्तर समस्यामा पर्दै आएका छन्।
ढुवानी कार्य रोकिएपछि आयस्रोत बन्द भएको भन्दै सिरहा नगरपालिका का विभिन्न वडाका करिब २२ परिवार आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफ्ना मागप्रति तत्काल ध्यान दिन प्रशासनसँग आग्रह गरेका छन्।