मुम्बई । बलिउड अभिनेता रणवीर सिंह लाई ज्यान मार्ने धम्की प्राप्त भएको छ। मंगलबार उनलाई ह्वाट्सएपमार्फत पठाइएको भ्वाइस नोटमा करोडौँ रुपैयाँ फिरौती माग गर्दै गम्भीर परिणामको चेतावनी दिइएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार धम्की प्राप्त भएको केही घण्टामै मुम्बई प्रहरीले रणवीरको बान्द्रा स्थित निवास बाहिर सुरक्षा कडा पारेको छ। प्रहरी बल थप तैनाथ गरिएको छ र आगन्तुक तथा आसपासको क्षेत्रमा कडाइका साथ निगरानी भइरहेको छ।
यो घटना निर्देशक रोहित शेट्टीको निवास बाहिर गत ३१ जनवरीमा भएको गोलीकाण्डसँग पनि जोडेर अनुसन्धान भइरहेको छ। त्यतिबेला पाँच राउन्ड गोली चलेको घटना पछि मुम्बई प्रहरीले बढी सतर्कता अपनाएको थियो।
प्रहरी अधिकारीका अनुसार भ्वाइस नोटमा धम्की दिने व्यक्तिले गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरेका छन् र निर्दिष्ट रकम नतिरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उक्त भ्वाइस नोटलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ।
मुम्बई प्रहरीले साइबर सेल र अपराध शाखा मार्फत ह्वाट्सएप नम्बर र भ्वाइस नमुना प्रयोग गरी अभियुक्तको स्थान पत्ता लगाउने काम गरिरहेको छ। प्रारम्भिक अनुसन्धानले यो धम्की आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने संकेत दिएको छ।
रणवीरलाई आएको धम्की रोहित शेट्टीको निवासमा भएको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित छ कि मात्र डर फैलाउने षड्यन्त्र हो, भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तलाई छिट्टै पक्राउ गरिने दाबी गरेको छ।
रणवीर हाल आफ्नो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा छन्। ५ डिसेम्बरमा रिलिज भएको यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। फिल्ममा उनले गुप्तचर एजेन्टको भूमिकामा देखा परेका छन्। यस फिल्मको सिक्वेल आगामी मार्चमा रिलिज हुँदैछ।