सिरहा । अदालतले जारी गरेको अन्तरिम आदेश कार्यान्वयनमा ढिलाइ भएको भन्दै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित गोठियाले कडा असन्तुष्टि जनाएका छन्। आदेश पालना नहुँदा आधारभूत स्वास्थ्य सेवा नै प्रभावित बनेको उनको आरोप छ।
वडाध्यक्ष गोठियाले सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै करारमा कार्यरत स्वास्थ्य तथा सचिव कर्मचारीलाई यथास्थानमा काम गर्न दिन अदालतले निर्देशन दिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका हुन्। उनले यसका कारण वडा नं. ६ सहित नगरका विभिन्न स्थानमा नियमित खोप कार्यक्रम प्रभावित बनेको उल्लेख गरेका छन्।
उनका अनुसार खोपजस्तो अत्यावश्यक सेवामा अवरोध हुँदा त्यसको प्रत्यक्ष असर निर्दोष बालबालिकामा पर्नेछ। “बालबालिकाको के दोष ?” भन्दै उनले प्रश्न गरेका छन्। व्यक्तिगत रिसिइबी, राजनीतिक स्वार्थ वा वर्चस्व देखाउने प्रवृत्तिले सार्वजनिक स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र प्रभावित हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
अन्तरिम आदेशको बेवास्ता भइरहे कानुनी शासनमाथि नै प्रश्न उठ्ने उनले बताएका छन्। खोप सेवा नियमित रूपमा सञ्चालन हुन नसके बालबालिकाको स्वास्थ्य जोखिममा पर्ने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी समेत उनले दिएका छन्।
यस विषयमा स्थानीयवासीबाट पनि चासो व्यक्त भइरहेको छ। नियमित रूपमा सञ्चालन हुनुपर्ने खोप कार्यक्रम अवरुद्ध हुँदा अभिभावकहरू चिन्तित बनेका छन्।
उता, नगरपालिकाका तर्फबाट भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। अदालतको आदेश कार्यान्वयनको अवस्था, कर्मचारी व्यवस्थापन तथा खोप कार्यक्रम सञ्चालनबारे स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।
अदालतको आदेश, स्थानीय सरकारको जिम्मेवारी र बालबालिकाको स्वास्थ्य अधिकार जोडिएको विषय भएकाले सम्बन्धित निकायले शीघ्र निकास निकाल्नुपर्ने आवाज उठ्न थालेको छ।