लहान । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले ४३ वर्षको सेवा अवधिमा लगभग दुई करोड मानिसलाई आँखा र कानको उपचार सेवा दिएको तथ्य सार्वजनिक गरेको छ। ४३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले बुधबार उपलब्ध तथ्यांक सार्वजनिक गर्दै देश–विदेशका बिरामीले अस्पतालमा उपचार गराइरहेको जानकारी दिएको हो।
प्रकाशित तथ्यांकअनुसार, लहान आँखा अस्पतालमा मात्रै ९२ लाख १४ हजारभन्दा बढी बिरामीको उपचार भइसकेको छ। यसमा करिब २४ लाख ६७ हजार आँखा बिरामी र ३२ हजार ७ सय कान बिरामीको शल्यक्रिया गरिएको छ। अस्पतालले हालसम्म उच्चतम स्तरको सेवा दिँदै कुल १५ लाख १३ हजार बिरामीको शल्यक्रिया सम्पन्न गरेको छ।
अस्पतालका प्रमुख प्रशासक अभिषेक रोशनका अनुसार, सन् २०२५ मा मात्रै ७ लाख ४२ हजार भन्दा बढी आँखा बिरामी उपचार भएका थिए, जसमा ६२ हजारभन्दा बढीको शल्यक्रिया गरिएको थियो। उनले भने, “सगरमाथा चौधरी आँखा अस्पतालले आफ्नो गुणस्तरीय सेवा र प्रभावकारी उपचारको कारण हालै हङकङमा आयोजित ‘एसिया प्यासिफिक अप्थल्मोलोजी अवार्ड २०२६’ बाट सम्मान प्राप्त गरेको छ।”
लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख सुधीर ठाकुरले मधेस प्रदेशमा लहान र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताललाई “सिन्टर अफ एक्सिलेन्स” घोषणा गरिएको र वागमती, कोशी तथा मधेस प्रदेशमा ४० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको बताए।
अस्पतालले तीन वर्षदेखि सुविधासम्पन्न आधुनिक भवनमा सेवा दिइरहेको छ। भवनमा २८ वटा ‘डिलक्स रुम’, आधुनिक उपकरण, पूर्ण उपचार सेवा र आवासको व्यवस्था रहेको छ। अस्पतालले देशभरिका बिरामीसँगै भारत, बंगलादेश, भुटान लगायत छिमेकी मुलुकका बिरामीलाई समेत सेवा दिइरहेको छ।
अन्तर्राष्ट्रिय भरोसा:
अस्पतालमा आउने विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय छन्। अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार, “भारतीय बिरामीहरू नेपालकै अस्पतालमा विश्वास गर्दै उपचारका लागि आउँछन्। यसले सगरमाथा चौधरी आँखा अस्पताललाई चिकित्सा पर्यटनको बलियो केन्द्र बनाएको छ।”
सगरमाथा चौधरी आँखा अस्पतालले न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा १५ उत्कृष्ट नेत्र विशेषज्ञसहित ३२० चिकित्सक र प्रशासनिक कर्मचारी कार्यरत छन्।
विभिन्न प्रकारका शल्यक्रिया जस्तै कोर्निया, रेटिना, ग्लुकोमा, डेढोपन, कन्ट्याक्ट लेन्स, अक्लोप्लास्टिक आदि सुविधा उपलब्ध छन्। अस्पतालले एआई प्रविधि प्रयोग गरेर आँखासम्बन्धी समस्याको पहिचान र अनुसन्धान गर्दैछ।
अस्पतालले अध्यापन र अनुसन्धानमा समेत जोड दिँदै छ। डिप्लोमा इन अप्थाल्मिक साइन्स र बिएस्सी अप्टोमेट्रिक्सको पाठ्यक्रम सञ्चालन गर्न तयारी भइरहेको छ।
अस्पतालका अध्यक्ष चौधरीका अनुसार, लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढ करोड रूपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गर्दै आएको छ। अस्पतालको मुख्य लक्ष्य भनेको अन्धोपन निवारण हो।
सगरमाथा चौधरी आँखा अस्पतालको उत्कृष्ट सेवा र निरन्तर योगदानले मधेस प्रदेशमा स्वास्थ्य पर्यटनको महत्व बढाएको छ र नेपालको स्वास्थ्य क्षेत्रमा गौरव थपेको छ।