दुष्यन्त चौधरी, कलैया , ८ असोज । स्थानीय थारू कलाकार वर्षा चौधरीले आफ्नो चौथो एल्बम “रहिया रे” सार्वजनिक गरेकी छन् । बाराली प्रोडक्शनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीत थारू कला, संस्कृति र प्रेमभावनालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको हो ।
गीतमा लोकप्रिय थारू कलाकार वीर चौधरी र वर्षा चौधरीको दमदार अभिनय देख्न सकिन्छ भने नेपाली संगीत क्षेत्रमा छुट्टै छाप छोडेकी ख्यातिप्राप्त गायिका अञ्जु पन्त र गायक भुवन प्रकाश बडुको मधुर स्वरले गीतलाई अझै आकर्षक बनाएको छ । गीतको निर्देशन हिरा चौधरीले गरेका हुन् भने बोल रचना स्वयं कलाकार वीर चौधरीकै सिर्जना हो ।
यसअघि “ लाल गुलाल ”, “प्यारी बहिनीया”, “प्रियतम प्रियासी” जस्ता चर्चित एल्बममा अभिनय गरेर दर्शक–श्रोताको मन जितिसकेकी वर्षा चौधरीले यस एल्बममार्फत फेरि एकपटक आफ्नो प्रतिभा र समर्पण प्रस्तुत गरेकी छन् ।
“रहिया रे” गीतको मूल सन्देश भने निकै गहिरो छ— कहिलेकाहीँ प्रेम पहिलो नजरमै बस्छ, तर परिस्थितिका कारण त्यो प्रेमलाई पाउन भने सम्भव हुँदैन । समाजमा देखिने यस्तै यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको यस गीतलाई दर्शक–श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।






















