कलैया । वीरगन्ज महानगरपालिकाको आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्दा झडपको स्थिति सिर्जना भएको छ। घटनामा एक सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
विशेष सूचनाको आधारमा गोदाममा पुगेको टोलीले खानतलासी सुरु गरेलगत्तै त्यहाँ रहेका व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले सामानको बिलबिजक स्पष्ट हुँदाहुँदै अनावश्यक दबाब दिइएको आरोप लगाएका छन्। विरोधका क्रममा स्थिति तनावग्रस्त बन्दै जाँदा केही व्यापारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको सशस्त्र प्रहरीले जनाएको छ।
ढुंगाप्रहारबाट एक प्रहरी घाइते हुनुका साथै प्रहरी सवार गाडीको अगाडिको सिसा फुटेको छ। घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ।
छापामारीका क्रममा गोदामबाट उल्लेख्य परिमाणमा सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यद्यपि सामानको यकिन विवरण र परिमाण संकलन गर्ने काम जारी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले जानकारी दिए। गोदामको स्वामित्वबारे पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यता व्यापारीहरूले वैध व्यवसायमा समेत हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएका छन्।






















