कलैया : जनमत पार्टीबाट बारा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा उम्मेदवार सिए राजेश साहले भ्रष्टाचार नियन्त्रण र क्षेत्रीय विकासलाई मुख्य लक्ष्य बनाएर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
आइतबार देवताल गाउँपालिका–५ धुराहा टोलमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
साहले बारा–२ देशकै पछाडि परेको क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै यहाँ देखिएका बेथिति अन्त्य गर्न ठोस पहल आवश्यक रहेको बताए।
रोजगारी र शिक्षाको अभावले क्षेत्रका युवाहरू समस्यामा परेको भन्दै उनले औद्योगिक सम्भावना भए पनि बजार र व्यवस्थापनको कमीले विकास अवरुद्ध भएको बताए। आवश्यक मेसिन तथा पूर्वाधार उपलब्ध गराएर स्थानीय उत्पादन र रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको उनले सुनाए।
पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका साहले १३ वर्षसम्म विभिन्न उद्योग–व्यवसायमा व्यवस्थापकीय जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै त्यसै अनुभवलाई क्षेत्र विकासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। पछिल्लो पाँच वर्ष सामाजिक काममा सक्रिय रहँदा स्थानीय समस्या नजिकबाट बुझेको भन्दै उनले बारा–२ लाई सक्षम र उदाहरणीय क्षेत्र बनाउने दाबी गरे।
घरदैलोका क्रममा मतदाताले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा पूरा नगरेको गुनासो राखेको साहले बताए। जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिएको उल्लेख गर्दै उनले विश्वास पुनःस्थापना गर्न काममुखी राजनीति आवश्यक रहेको धारणा राखे।
उनले क्षेत्र नम्बर–२ मा पटक–पटक निर्वाचित नेतृत्वबाट अपेक्षित विकास हुन नसकेको आरोप लगाउँदै अब परिवर्तनको आवश्यकता रहेको बताए। मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गर्दै उनले निरन्तर सहयोग र साथ मिलिरहेको बताए।






















