काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः अध्ययन गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले उक्त निर्णय सार्वजनिक गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डबारे हालसम्म तयार भएका प्रतिवेदन, अध्ययन तथा छानबिनका दस्तावेजहरूको पुनः समीक्षा गरिने बताए। उनले घटनासम्बन्धी उपलब्ध तथ्य र प्रमाणको अध्ययनपछि आवश्यक देखिए थप अनुसन्धान प्रक्रिया अघि बढाइने स्पष्ट पारे।




नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय घटनामध्ये एक मानिने दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह लगायत राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। घटनाबारे विभिन्न समयमा छानबिन भए पनि त्यसबारे सार्वजनिक बहस र प्रश्नहरू भने अझै कायम छन्।
गृहमन्त्री गुरुङले दरबार हत्याकाण्ड मात्र नभई हाल विभिन्न निकायमा छानबिनका क्रममा रहेका फाइलहरू समेत खोल्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउने र जनचासोका विषयमा पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।
यसैबीच उनले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा कानुनी तथा प्रशासनिक अध्ययन गर्ने निर्णय पनि गरेका छन्।
आन्दोलनका क्रममा दर्ता भएका मुद्दाहरूको अवस्था, कानुनी आधार तथा राजनीतिक सन्दर्भको समीक्षा गरेर आवश्यक निर्णय लिइने गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री गुरुङको यो निर्णयलाई सरकारले पुराना तथा संवेदनशील विषयहरूको पुनः समीक्षा गर्ने संकेतका रूपमा हेरिएको छ। दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने तयारीले राजनीतिक तथा सार्वजनिक वृत्तमा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।






