काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त भएका महावीर पुनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकाल र प्राथमिकताबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले आफू सरकारको पूरा पाँचवर्षे कार्यकाल नबस्ने र बढीमा तीन वर्षभित्रै उल्लेखनीय परिणाम दिने लक्ष्यका साथ काम गर्ने बताएका छन्।
मंगलबार मन्त्री नियुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले सीमित समयमै देशको विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन आफू पूर्ण रूपमा समर्पित हुने बताए। उनले दिनरात नभनी काम गरेर मन्त्रालयलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।




‘यो सरकार पाँच वर्षका लागि बनेको हो, तर म त्यति समय मन्त्रालयमा बस्दिनँ। बढीमा तीन वर्ष काम गर्ने हो। त्यो अवधिमा सकेसम्म धेरै काम गरेर देखाउने लक्ष्य छ,’ पुनले भने।
उनले आफ्नो कार्यकाललाई पद र सुविधाभन्दा पनि जिम्मेवारी र परिणामसँग जोडेर हेर्ने बताए। निर्धारित समयपछि सक्षम नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै बिदा हुने उनको भनाइ छ।
पुनको यो अभिव्यक्तिलाई मन्त्रालयमा नयाँ सोच, कार्यशैली र परिणाममुखी नेतृत्वको संकेतका रूपमा हेरिएको छ। विज्ञान तथा प्रविधिको विकासमार्फत देशको समृद्धिमा योगदान पुर्याउने लक्ष्यसहित उनले आफ्नो कार्ययोजना अघि बढाउने बताएका छन्।






