बिरगंजको रानिघाटमा घर बनाउने क्रममा करेन्ट लागेर २ जना घाइते
चेरवन्त खबर डेस्क
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ९ रानिघाटमा करेन्ट लागेर २ जना घाइते भएका छन् । उनिहरुले घर बनाउने बेलामा करेन्ट लागेको हो ।
घाइते हुनेमा सोही महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने ३८ वर्षका शर्मा पटेल र वडा नम्बर १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल घाइते भएका हुन् । शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
उनिहरुले रानीघाट स्थित कमल रौनियारको घर बनाउने कामको क्रममा घरको छतबाट फलामको रड तल झार्दा १ हजार भोल्टको बिजुलीको तारमा छोएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सुचना अधिकारी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था मध्यम रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।