बिरगंजका मेडिकल कर्मचारीलाई कुटेको विषयमा अनुसन्धान गर्न छानविन समिति गठन
प्रदेश नम्बर २ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रह्लाद कार्कीले बुधवार मेडिकल पसलका एक कर्मचारीलाई कुटेको घटनाको छानविन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
चौतर्फी आलोचनाले दबाब बढेपछि प्रदेश नं। २ प्रहरी कार्यालयले घटनाको छानविन गर्न भन्दै छानविन समिति गठन गरेको हो । निषेधाज्ञा पालना गराउने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नं। ८ मा रहेको मेडिकल पसलका कर्मचारीसँग गैर व्यवसायिक व्यवहार देखाएको समाचार विभिन्न माध्यमबाट बाहिरिपछि प्रदेश नं। २ प्रहरी कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश नं. २ प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण प्रसाईको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक प्रसाईद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको र अनुसन्धान गरिरहेको छानविन समितिका संयोजक प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिए । अनुसन्धानको क्रममा कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने उनको भनाई छ ।