
प्रदेश २ मा तीन जिल्लाका सात जनालाई कोरोना पुष्टि


चेरवन्त खबर : प्रदेश नम्बर २ को पर्सा, बारा र रौतहटका सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जमा अवस्थित नारायणी उप- क्षेत्रीय अस्पतालमा मंगलबार ८८ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका चार, बाराका दुई र रौतहटका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४, ८, १० र १५ मा एक/एक जना गरी ४ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी बारा जिल्लाको जिपुतसिमरा उपमहानगरपालिका वडा नम्बर २ र २० मा एक/एक जना गरी दुई जनामा र रौतहटको यमुनापुरी गाउँपालिका वडा नम्बर ५ का एक जनामा संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएकाहरु १९ वर्षदेखि ७२ वर्ष उमेर समुहसम्मका ६ पुरुष र २ महिला रहेका छन् भने उनीहरुको सिटि भ्यालु२१ देखि २९ सम्म रहेको छ ।

वीरगञ्ज महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरेदेखि कोरोना परिक्षणको दायरापनि घटेको छ ।
