कोल्हबी नगरपालिकाको वडा नम्बर एक, पाँच र छ मा पनि राहत वितरण गरिदैं
चेरवन्त खबर कोल्हबी
विश्व महामारीको रुपमा फैलिदै गएको कोरोनाको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लक डाउनमा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई खाद्यान्न अभाव भएपछि कोल्हबी नगरपालिकाले उपलब्ध गराएको सामग्री वडा नम्बर १, ५ र ६ मा पनि आज शनिवार २९ गते अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्न शुरु गरेको छ । कोभीड़ १९ को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाई भएको समस्यालाई मध्यनजर गर्दै राहत उपलब्ध गराइएको हो ।
यस नगरका तिन वटै वडाले नगरपालिकाले दिएको निर्देशन अनुसार तिन प्याकेज भित्र रहेर सो राहत वितरण गरेको छ । उक्त निर्देशन अनुसार प्याकेज एक मा दुई जना सम्मको परिवार जसलाई दश के.जी. चामल, एक के.जी. दाल, एक पैकेट नुन, दुई के.जी. आलु र आधि लिटर खाने तेल बाँडेको थियो भने प्याकेज दुईमा ४ जना सम्मको रहेको परिवारलाई बिस के.जी. चामल, दुई के।जी। दाल, एक पैकेट नुन, तिन के.जी. आलु र एक लिटर तेल वितरण गरिएको थियो । त्यस्तै प्याकेज तिनमा चार जना भन्दा माथि निर्देशन गरिएको परिवारलाई पच्चीस के.जी. चामल, दुई के.जी. दाल, दुई पैकेट नुन, पाँच के.जी. आलु र एक लिटर तेल दिइएको थियो ।
कोल्हबी नगरपालिकाको वडा नम्बर १मा पर्ने खैरा , काटा र मठवा गाउँमा प्याकेज एकमा नौं घर, प्याकेज दुईमा पैतिस घर र प्याकेज तिनमा तिर्छठ्ठी घर परिवार गरी १०७ जनालाई खाद्यान्न वितरण गरे भने वडा नम्बर ५ ले प्याकेज एकमा ४१, प्याकेज दुईमा १४८ र प्याकेज तिनमा २१९ गरी ४०८ घर र वडा नम्बर ६ ले प्याकेज एकमा १५, प्याकेज दुईमा ८० र प्याकेज तिनमा ११२ घर भई २०७ परिवारलाई राहत प्रदान गरेको नगर प्रमुख भरत बहादुर भण्डारीले बताउनु भयो ।
एघार वटा वडा रहेको कोल्हबी नगरपालिकाले नगर क्षेत्र भित्र रहेका अति विपन्न, दैनिक ज्यादारी, एकल महिला लगायतलाई वैशाख १ अर्थात नयाँ वर्ष अगावै राहत उपलब्ध गराउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । कोभिड–१९ नेपालमा संक्रमण हुन नदिनको लागी विगत दुई साता भन्दा बढि दिन देखी भएको लकडाउनमा जिवनयापन गर्न केही सहजता होस् भन्ने उद्देश्यले खाद्यन्न सामग्रीहरु उपलब्ध गराउन लागिएको यस नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिनु भयो ।
समाजीक दुरी कायम रही गरीएको यस कार्यक्रमलाई पारदर्शी रुपले सफल बनाउन वडाका निर्वाचित सम्पुर्ण जनप्रतिनिधि लगायत गठन गरीएको समितिले राहत वितरण गरेको छ । सो राहत वितरण कार्यक्रमलाई निष्पक्ष रुपले सम्पन्न गर्न वडामा निर्वाचित जनप्रतिनिधि लगायत गठन गरिएका सर्वदलिय समिति, नगर प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि, सशस्त्र प्रहरी बेश क्याम्प कोल्हबीका प्रतिनिधिका साथै वडा सचिव र कर्मचारीहरुको रोहबरमा सो राहत वितरण गरेको थियो ।