कलैया । महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोकथाम तथा नीतिगत पहलहरूबारे जानकारी आदान–प्रदान गर्न शुक्रबार कलैयामा पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
फ्रेन्ड्स विदआउट बोर्डर्स (FWLD) को आयोजनामा भएको कार्यक्रममा स्थानीय तहमा बनेका कानुन र नीति कार्यान्वयनमा चुनौती रहेको सहभागीहरूले बताएका छन्। प्रभावकारी अनुगमन र नियमित मूल्याङ्कनको अभावका कारण कार्यक्रम अपेक्षित रूपमा सफल हुन नसकेको उनीहरूको भनाइ छ।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता समीर श्रेष्ठले महिला तथा बालबालिका संरक्षणमा स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा यौनजन्य हिंसा, बालविवाह, मानव बेचबिखनलगायतका अपराध नियन्त्रणका लागि कानुनी र सामाजिक पहल आवश्यक रहेकोमा जोड दिइयो।
कलैया उपमहानगरपालिकाले “महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली–२०८२” कार्यान्वयनमा ल्याइसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।
त्यस्तै, देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णन्दन राय यादव ले न्यु फ्रेन्ड क्लबको सहकार्यमा ऐन निर्माण गरी पालिकास्तरमै कार्यान्वयन भइरहेको जानकारी दिए।






















