कलैया । बारा जिल्लाको कोल्हवीमा अवस्थित ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा यस वर्ष अहिलेसम्मकै बढी रक्त संकलन भएको छ।
सहकारीको ६औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा, २१ गते सोमबार आयोजित कार्यक्रममा ११० जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका हुन्।
हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले यसपटक उल्लेखनीय सहभागिता जुटाउन सफल भएको संस्थाका प्रतिनिधि प्रेम चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस भेगमै यो वर्षको सबैभन्दा ठूलो रक्त संकलन भएकाले संस्था गौरवान्वित छ।
कार्यक्रम सफल बनाउन शान्ति वृद्ध फाउन्डेसनले सहजीकरण गरेको थियो भने प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीले आवश्यक सहयोग उपलब्ध गराएको थियो। प्राविधिक व्यवस्थापन रक्त सञ्चार केन्द्र वीरगन्जले गरेको थियो। रक्तदानमा सहभागी सबैलाई सहकारीले प्रमाणपत्र प्रदान गरेको छ। 
























