वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो पाँच महिनामा वीरगञ्ज नाकाबाट करिब ४० अर्ब रुपैयाँ बराबरका वस्तु विदेशी बजारमा निर्यात भएका छन् । भन्सार कार्यालयका अनुसार यस अवधिमा ३९ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको हो, जुन गत आवको सोही अवधिको तुलनामा ८९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाकाबाट २१ अर्ब १८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । चालु आवमा उद्योगगत उत्पादन र प्रशोधित वस्तुको निर्यात बढेसँगै समग्र निर्यातमा उल्लेखनीय सुधार देखिएको भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार निर्यातमैत्री वातावरण, उद्योग सञ्चालनमा आएको सहजता र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढ्नुले निर्यात वृद्धिमा टेवा पुगेको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमास तेल विदेश पठाइएको छ । त्यसैगरी ३ अर्ब ७ करोड रुपैयाँ बराबरको फलफूलको जुस, २ अर्ब ८७ करोड रुपैयाँ बराबरको सूर्यमुखीको तेल र १ अर्ब ९७ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
त्यस्तै, विभिन्न किसिमका कपडाको निर्यात पनि उल्लेख्य रहेको छ । पाँच महिनामा १ अर्ब ५० करोड रुपैयाँ बराबरका कपडा विदेशी बजारमा निर्यात भएका छन् ।






















