कलैया । बाराको मनहर्वा–५ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रीजबाट निस्किने प्रदूषणले मानव बस्ती, कृषि जमिन र जलस्रोतमा गम्भीर असर पारेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। वातावरणीय मापदण्ड र वार्षिक परीक्षण नगरी उद्योगले उखु क्रसिङ सुरु गरेपछि समस्या झन् बढेको स्थानीयको आरोप छ।
उखु क्रसिङका क्रममा निस्कने कालो फोहर पानी सिधै बंगरी नदीमा मिसिँदा नदीको पानी प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। किसानका अनुसार सो पानी खेतबारीमा पुगेपछि बालीनाली सुक्ने, उत्पादन घट्ने र माटोको उर्वराशक्ति कमजोर हुने समस्या देखिएको छ। नदीमा माछा र अन्य जलचर मर्न थालेपछि दीर्घकालीन वातावरणीय संकटको खतरा बढेको छ।
उद्योग परिसरमा खोइ, माटो र ठोस फोहर खुला ठाउँमा थुपारिँदा दुर्गन्ध फैलिएको छ। झिँगा र लामखुट्टे अत्यधिक बढ्दा छाला रोग, दम, श्वासप्रश्वास समस्या तथा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीयको गुनासो छ। मुसिलो धुवाँ, उखुको कणिका, चुन र गन्धकका कारण श्रीपुर, मनहर्वा, झिटकैया, बजनी, अवधापुर लगायत क्षेत्रका बासिन्दा प्रभावित बनेका छन्।
वातावरणविद्हरूले उखु उद्योग सञ्चालनका लागि फोहर प्रशोधन केन्द्र (ETP) अनिवार्य भए पनि त्यसको प्रभावकारी प्रयोग नभएको बताएका छन्। स्थानीयवासीले उद्योग र प्रशासनबीच सहमति भए पनि प्रदूषण नियन्त्रणमा ठोस कदम नचालिएको आरोप लगाएका छन्।
यता उद्योग प्रशासनले प्रदूषण नियन्त्रणको प्रयास भइरहेको दाबी गर्दै पूर्ण समाधान हुन नसकेको स्वीकार गरेको छ। यस वर्ष करिब २५ देखि ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यसहित चार महिना सञ्चालन हुने उद्योगका कारण हजारौँ नागरिक प्रदूषित वातावरणमा बस्न बाध्य हुने स्थानीयको चिन्ता छ।
स्थानीयवासीले तत्काल वातावरणीय परीक्षण, प्रदूषण नियन्त्रण प्लान्ट जडान र मापदण्ड उल्लङ्घन गर्ने उद्योगमाथि कडा कारबाही गर्न माग गरेका छन्। समयमै कदम नचालिए यो उद्योग क्षेत्रकै लागि गम्भीर स्वास्थ्य र वातावरणीय संकटको केन्द्र बन्न सक्ने चेतावनी दिइएको छ।






















