कलैया । मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा “सञ्चार माध्यमको अवस्था र चुनौती” विषयक एकदिवसीय गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा मधेस प्रदेशका सञ्चार माध्यमले भोग्दै आएका आर्थिक, संरचनागत र प्रविधिगत समस्यामाथि व्यापक छलफल गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय संरचनाअनुसार सञ्चार क्षेत्रलाई सशक्त बनाउन प्रदेश र स्थानीय तहमा स्रोत तथा अधिकार हस्तान्तरण आवश्यक रहेको बताए। उनले स्वतन्त्र र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा, क्षमता विकास र प्रविधिमा पहुँच राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए।
गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सञ्चार माध्यमको आर्थिक संकट, डिजिटल रूपान्तरण, फेक न्युज नियन्त्रण तथा पत्रकारको पेशागत सुरक्षाबारे चिन्ता व्यक्त गरे। उनले प्रेस स्वतन्त्रता संरक्षण गर्दै मर्यादित पत्रकारिता प्रवर्द्धनमा मिडिया काउन्सिलको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले गोष्ठीमा उठेका सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बारा र पर्साका ४५ भन्दा बढी सञ्चार माध्यमका सञ्चालक, सम्पादक तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
गोष्ठीले मधेस प्रदेशको सञ्चार क्षेत्र सुधार र दिगोपनाका लागि साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।






















