कलैया । वीरगन्जको पुरानो बसपार्कस्थित त्रिशाला रेष्टुरेन्टमा कार्यरत २१ वर्षीया सुनिता स्याङ्बो मृत फेला परेको घटनालाई लिएर उनका आफन्त र स्थानीयले निष्पक्ष छानबिन तथा दोषीलाई कडा कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन्।
पर्सागढी नगरपालिका–३ झबराहाकी स्याङ्बोको रहस्यमय मृत्यु भएपछि बुधबार उनका परिवारजन र गाउँलेहरू नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयबाट जिल्ला प्रशासन कार्यालयतर्फ पुगेका थिए। प्रशासन कार्यालयको मूल गेट बन्द भेटिएपछि उनीहरू पुनः जिल्ला प्रहरी कार्यालय अगाडि लालबंगलास्थित खाली जग्गामा भेला भई प्रदर्शनमा उत्रिएका थिए।
आफन्तजनले सुनिताको शवको अवस्था हेर्दा घाँटी अठ्याएर हत्या गरिएको आशंका रहेको दाबी गरेका छन्। घटनाले सत्यतथ्य बाहिर ल्याउन प्रहरीको गम्भीर अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।
यस सम्बन्धमा पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनाको अनुसन्धान जारी रहेको र होटलमा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए। मृतकका परिवारसँग छलफल भइरहेको र शव परीक्षणका लागि सुनिताको शव शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






















