काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
पार्टीको नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने भनिए पनि अलि ढिलो शुरु भएको जनाइएको हो ।
यसअघि मंगलबारका लागि तय गरिएको मतदान विभिन्न प्राविधिक कारणले स्थगित भई आजका लागि सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार मतदान सञ्चालनका लागि भृकुटीमण्डपभित्र प्रयोग हुने हलसमेत परिवर्तन गरिएको छ। मतदान प्रक्रियालाई सहज बनाउन ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ।
महाधिवेशनमा सहभागी रहेका कुल २ हजार २६३ प्रतिनिधिले आजको निर्वाचन प्रक्रियामा भाग लिनेछन्। एमालेको नयाँ नेतृत्व चयनसँगै महाधिवेशनको महत्वपूर्ण चरण आज सम्पन्न हुने अपेक्षा गरिएको छ।






















