कलैया । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरियामा स्थानीय समूहले मेला आयोजना गर्दै गर्दा सम्बन्धित निकायसँग कुनै समन्वय नहुँदा विवाद उत्पन्न भएको छ।
विशेषगरी मेला संचालनका क्रममा मेला स्थल सङ्गै टासिंएको विद्यालयमा चलिरहेको अर्धवार्षिक परीक्षा बाधित हुने चिन्ता बढेको छ।
वडा अध्यक्ष उमेश प्रसाद चौधरीका अनुसार मेलाका आयोजकहरूले वडा कार्यालयलाई कुनै जानकारी नदिई कार्यक्रम तय गरेका हुन्। उनका अनुसार, “मेला जस्तो ठूलो भीडभाड हुने कार्यक्रमबारे वडा कार्यालयलाई समेत जानकारी नदिएको अत्यन्त दुःखद छ। विद्यालयमा परीक्षा भइरहेको अवस्थामा ठूलो आवाज, डिजे, नाच–गानले विद्यार्थीको पठनपाठनमा गम्भीर असर पर्छ,” उनले बताए।
तेतरियास्थित स्थानीय विद्यालयमा यसै हप्ता देखि परीक्षा शुरु हुने जानकारी प्राप्त भएको छ। विद्यालय प्रशासनले समेत मेलाको ठूलो आवाज तथा भीडका कारण सिकाइ वातावरण प्रभावित हुने बताएको छ। एक शिक्षकले भने, “परीक्षाका बेला बाहिरबाट डिजे र माइकको ठूलो आवाज आउने हो भने विद्यार्थीले ध्यान केन्द्रित गर्नै सक्दैनन्। परीक्षा सञ्चालन कसरी गर्ने भन्ने चिन्ता छ।”
गाउँपालिका प्रमुख अध्यक्ष शम्भु प्रसाद यादव भने यस विषयमा चिन्तित नरहेको स्थानीयहरुको कथन रहेको छ। स्थानीयवासीले समन्वयबिनै मेला आयोजना गरिनु गैरजिम्मेवार व्यवहार भएको भन्दै असन्तोष व्यक्त गरेका छन्। अब वडा तथा गाउँपालिका स्तरबाट नयाँ निर्णय आउने आशामा परीक्षार्थी, अभिभावक र विद्यालय प्रशासन प्रतीक्षा गरिरहेका छन्।






















