रौतहट । आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्विजले रौतहट क्षेत्र नं ३ अन्तर्गतको कटहरियामा एकीकृत सेवा केन्द्र स्थापना नहुनुको कारणबारे सरकारसँग गम्भीर प्रश्न उठाएका छन्।
आधिकारिक फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिंदै यादवले एमाले–कांग्रेसको दुई तिहाई बहुमतको सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले भनेका छन्, “पर्साको पोखरिया नगरपालिकामा एकीकृत सेवा केन्द्र स्थापना हुन्छ, तर कटहरियामा किन होइन ?” कटहरियामा मालपोत तथा नापी शाखा स्थापना नगर्नु सरकारको विभेदकारी नीति भएको उनले उल्लेख गरेका छन्।
विजय यादवले सरकार समयमै न सचिए कडा प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन्। उनका अनुसार, केही वर्षअघि प्रचण्ड नेतृत्वको सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत कटहरियामा सेवा केन्द्र स्थापनाका लागि ध्यानाकर्षण पत्र बुझिएको थियो, तर अझैसम्म त्यसमा कुनै पहल भएको छैन।
उनले कटहरियामा सेवा केन्द्र स्थापना भएमा फतुवा विजयपुर, कटहरिया र गुजरा नगरपालिकाका हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै, सरकारको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन्।
नागरिक समाजले पनि यस विषयमा तत्काल छानबिन समिति गठन गरी दोषी कर्मचारी तथा संलग्न समूहमाथि कारबाही गर्न माग गरेका छन्।