पर्सा, रङ्गपुर – पर्सा जिल्लाको पटेर्वासुगौली वडा २ अन्तर्गत रङ्गपुर प्रहरी चौकीद्वारा लागू औषधको दुष्प्रभाव र त्यसबाट जोगिने उपायबारे जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम प्रहरी चौकी रङ्गपुरका प्रमुख प्रहरी सहायक निरीक्षक रामपुकार चौधरीको नेतृत्वमा सम्पन्न गरिएको हो।
“समुदाय-प्रहरी साझेदारी” अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम रङ्गपुर टोलका स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको सहभागितामा सम्पन्न भयो। कार्यक्रमको क्रममा सहभागीहरूलाई लागू औषधको लतले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी दिइयो। साथै, युवाहरूलाई लागू औषधबाट जोगिन र प्रहरीलाई सहयोग गर्न आग्रह पनि गरिएको थियो।
प्रहरी सहायक निरीक्षक चौधरीले लागू औषध रोकथाममा प्रहरी मात्र नभई स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमले समुदाय र प्रहरीले सहकार्य गर्दै सुरक्षित समाज निर्माण गर्न सकिने सन्देश दिएको छ।






















