निजगढ । नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित भएका छन् ।
नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित भएका हुन् । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुँवरले ९५ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले एक सय ६७ मत पाउँदा जितबहादुर तामाङले एक सय मत पाए ।
सचिवमा थानेश्वर सापकोटा निर्वाचित भएका छन् । सापकोटाले एक सय ८४ मत पाए भने सचिवका अर्का उम्मेदवार प्रेमबहादुर कार्कीले ८५ मत पाएको निर्वाचन कमिटी सदस्य प्रलाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । भट्टराईले एक सय १५ मत प्राप्त गरेका छन् । उपसचिवका अर्का उम्मेदवार हरि बर्तौलाले ६१ र बिजय तिमिल्सिनाले ५९ मत पाएका छन् ।
नगर कमिटीको एक उपसचिव (महिला) र ५० सदस्य निर्विरोध चयन भएपनी अध्यक्षसहितको चार पदाधिकारी चयनका लागि निर्वाचन भएको हो । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव निर्वाचित भएका छन् ।