कलैया । पूर्व पश्चिम लोकमार्गको अमलेखगंजमा भएको सवारी दुर्घटनामा परि १९ जना घाईते भएका छन् । घाईतेहरुको हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । बिग्रिएर रोकिराखेको लहरीमा पछाडीबाट यात्रुबसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
सोमबार विहान ०३ः३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका –२२ को ३ नं. पुल नजिक हेटौँडा बिरगंज सडक खण्डमा काँकरभित्ताबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसका यात्रु घाईते भएका हुन् ।
बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नं. को कोईला लोड भएको लहरी ट्रकमा यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट अनियन्त्रित भई बास सडक भन्दा ५ मिटर तल खसेको थियो । उक्त दुर्घटनामा बसमा सवार यात्रु घाईते भएका हुन् ।
दुर्घटनामा ग २ ख १६५५ नम्बरको बसका चालक रवि कुमार ताम्राकार र सहचालक वासुदेव अधिकारीसहित यात्रुहरू अनिल बस्नेत, राजेन्द्र सुनुवार, खर्क सिंह तुम्वापो, विलास दास, रविन्द्र माझी, भरत ईश्वर, बुदमाया यावो, पुष्पा वली, मनिषा राई, निशा लिम्बु, अनुराग खड्का, रेशम थापा, सागर क्षेत्री, दलबहादुर राई, तेजबहादुर राई, संजिव राई र टेकबहादुर राई घाइते भएका हुन्।
घाइतेहरूमध्ये राजेन्द्र सुनुवार, मनिषा राई, अनुराग खड्का, रेशम थापा र तेजबहादुर राईको अवस्था अन्यको तुलनामा गम्भीर रहेको जनाइएको छ। उनीहरूको टाउको, अनुहार र हातखुट्टामा गम्भीर चोट लागेको छ।
सबै घाइतेलाई उद्धार गरी हेटौँडा सामुदायिक अस्पताल र स्थानीय अकलबहादुर कार्की अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्रहरीले दुर्घटनामा संलग्न बस चालक तिलक बहादुर थापा मगरलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनास्थलमा रहेका सवारी साधन हटाउने काम भइरहेको छ। अहिले घटनास्थलमा एकतर्फी बाटो सुचारु गरिएको जनाइएको छ। प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।