कलैया । बारा जिल्लाको मटिअर्वा नाकामा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले छड्के चेकजाँच खुल्ला तस्करीलाई नजरअन्दाज गरेका कारण दुई सुरक्षाकर्मीलाई निलम्बन गर्न आदेश दिएका छन् ।
जिल्ला अनुगमनको क्रममा सो स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको तस्करीलाई छुट दिएको देखे पछि जिल्ला प्रशासन प्रमुख अधिकारीले बारा प्रहरी प्रमुख उपरिक्षक संतोष तामाङलाई तत्कालै फोन मार्फत निलम्बन गर्न आदेश दिएका हुन् ।
जिल्ला प्रमुख अधिकारीले सीमावर्ती नाकामा अचानक अनुगमनमा निस्किंदा चेकजाँचका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एकजना कर्मचारी तस्करी रोक्न सक्रिय नभएको देखिएपछि दुवैलाई निलम्बन गर्न निर्देशन दिइएको हो।
जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ।
प्रमुख जिल्ला अधिकारीको यो कदमपछि सीमावर्ती क्षेत्रमा सुरक्षा प्रणाली थप कडा बनाइने अनुमान गरिएको छ। स्थानीय प्रशासनले अवैध गतिविधि रोक्न कडा निगरानी राख्ने र अन्य दोषीहरूलाई समेत कारबाही गरिने बताएको छ।
यसै जिल्ला अनुगानको क्रममा जितपुरसिमरा देखि वीरगंज सडकखण्डमा द्रुतगतिमा आइरहेको एक ट्रक र टिप्परलाई पनि कारबाहीको लागि सिफारिस गरेको खबर प्राप्त भएको छ । सो क्रममा एकै साथ जिल्ला प्रशासन प्रमुख अधिकारी र प्रहरी प्रमुख तामाङ पनि रहेका थिए ।