काठमाडौं । प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ।
आज मंगलबार ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।
प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।
यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए।
गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर केरूङतर्फ लैजाँदै गरेका थिए। ट्रकको पछाडि भने खाली नै थियो। उताबाट आउँदा केही पाइयो भने ल्याउने भनेर उनले खाली गाडी लगेको बयानमा भनेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाए लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो। शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए। उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो।