कलैया। यातायात व्यवस्था कार्यालय कलैया बाराले सवारी चेकजाँचमा कडाइ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गर्न भन्दै यातायात कार्यालयले सवारी छड्के चेकजाँच बढाएको छ ।
कागजात भए नभएको जाँच र सवारी साधनको यान्त्रिक परीक्षणमा जोड दिइएको यातायात व्यवस्था कार्यालय कलैयाको कार्यालय प्रमुख अबिन्दर दासले जानकारी दिएका छन्। जसअन्तर्गत मँगलबार कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वामा छड्के चेकजाँच गरीएको जानकारी समेत कार्यालय प्रमुख दासले दिएका छन्।
कार्यालय प्रमुख दासको अनुसार यातायात कार्यालयको नेतृत्व र ट्राफिक प्रहरी कार्यालय निजगढको समन्वयमा मटिअर्वा चौकमा चेकजाँच गरीएको छ।
उक्त चेकजाँचमा केहि सवारी साधनलाई कार्वाही समेत गरीएको छ।
चालकको लापरबाही तथा पुराना सवारी साधनका कारण सडक दुर्घटना बढिरहेकाले ट्राफिक नियमको पालना गराउन चेकजाँचलाई निरन्तरता दिन लागिएको कार्यालय प्रमुख दासले बताएका छन्।
साथै यसरी चेकजाँच गर्दा पुराना सवारी साधनलाई मर्मत सम्भारका दबाब दिने तथा त्यस्ता साधनलाई विस्थापित गरी सडक यातायात सेवालाई भरपर्दो बनाउने समेत लक्ष राखिएको दासको भनाई रहेको छ ।
बाराको कलैयामा २०८० साल मँसिर २५ गते यातायात कार्यालय स्थापना भए पनि यो यातायात व्यवस्था कार्यालयको छड्के चेकजाँच पहिलो पटक हो। अब उप्रान्त समय समयमा तालिका बनाई यातायात कार्यालयले छडके चेकजाँच गर्ने उदेश्य समेत राखिएको कार्यालय प्रमुख दासले बताएका छन्
छड्के चेकजाँचमा यातायात व्यवस्था कार्यालय कलैयाको सहायक अधिकृत जिवन पौडेल र सर्बिन महतो, लेखापाल रघुनन्दन साह , अस्थायी ट्राफिक पोष्ट कलैयाको प्रहरी बरिष्ठ नायव निरीक्षक अशोक बस्नेत लगायतका टोलि खटिएको थियो।
यस अघि कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुनुका साथै सवारी दर्ता, नवीकरण, जाँच पास, रुट परमिट, चालक अनुमति पत्र दस्तुर र नवीकरण लगायतका सेवा प्रवाह भइरहेका छन् ।