हेटौंडा । मकवानपुर प्रहरीले विस्फोटक पदार्थसहित मकवानपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका – ३ बसामाडीबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।
पूर्वपश्चिम सडक खण्डअन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा विस्फोटक पदार्थसहित हेटौंडा( १९ बस्ने अमृत घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार झोलामा लुकाएर ल्याएको अवस्थामा ९० प्रिमियर ३२ एमएम, एक्सप्लोसिभस क्लास( २ लेखिएको विस्फोटक पदार्थ १ थान, नेगोजेल ९०१, क्याप सेन्सेटिभ इमुल्सिओन एक्स्पोल्सिभ नामक विस्फोटक पदार्थ एक थान, सेतो गिलो विस्फोटक पदार्थ २ थान, सुन्तला रंगको विस्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ ३ थान, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको विद्युतीय डेटोनेटर ६ थान, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको विद्युतीय डेटोनेटर २० थान गरी ३३ थान र तार नजोडेको कालो टेपले बेरिराखेको डेटोनेटर १४ थान र डेक्कोड रंगको तार ३ फिट ६ इन्चको १ थान, ३ फिट ८ इन्चको १ थान फेला परेको हो ।
प्रहरीले बरामद गरिएको विस्फोटक पदार्थबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । घलानलाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।