कलैया । बाराको पश्चिमी क्षेत्रका जनतालाई मालपोत र नापी कार्यालयका सेवा दिन केही वर्षदेखि सिमरामा ती कार्यालयका सेवा केन्द्र सञ्चालनमा छन् । तर प्रभावकारी सेवा दिनको लागि स्थापित ती सेवा केन्द्रले अनावश्यक दुःख दिइरहेको सेवाग्राहीहरूले गुनासा गरेका छन् ।
बिहान १० देखि साँझ ५ बजेसम्म ती सेवा केन्द्र सञ्चालन हुुनुपर्ने हो । तर फागुन १८ गते आइतवार साढे १० बजेसम्म सेवा केन्द्रमा कोही कार्मचारी आएका थिएनन् । सेवाग्राहीका अनुसार यी सेवा केन्द्रमा सधैं कर्मचारी ढिला आउने गर्छन् ।हाकिमसहित १९ जना कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यालयमा एकजना प्रमुख मालपोत अधिकृत, दुईजना शाखा अधिकृत, छजना नासु, चारजना खरिदार, कम्प्युटर अपरेटर र सहायक छजना गरी कुल १९ जना कर्मचारीको दरबन्दी छ । तर बिहान ११ बजेपछि मात्रै कर्मचारीहरू आउने गरेको यहाँ सेवा लिन आउनेहरू बताउँछन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रहेको मालपोत कार्यालयको मात्रै नभई नापी कार्यालयका कर्मचारीहरू पनि समयमा नआउने गरेको पाइएको छ ।मधेस प्रदेश सरकार मातहतको यो कार्यालय हेर्ने मन्त्रालयका प्रतिनिधि टोलीले केही साता अघि अनुगमन गरेको थियो । तर पनि अहिलेसम्म कर्मचारीहरूको चालचलनमा सुधार नआएको सेवाग्राहीहरू बताउँछन् ।
यस विषयमा मालपोत कार्यालयका प्रमुख इन्द्र पाण्डेसग बुझ्दा उनले एकजना कर्मचारी आज बिदामा बसेको र बाँकी सबै कार्यालयमा रहेको बताए । उनले खरिदार हरिनारायण यादव बिदामा बसेको बाँकी कर्मचारी समयमैं कार्यालय आउने गरेको बताए ।उनले दैनिक ५/६ वटा लेखत पास हुने गरेको बताउँदै ढिला आउने कर्मचारीलाई कारबाई गर्ने बताए । उनले सबै कर्मचारी ११ बजेसम्म कार्यालयमा आउने गरेको स्वीकारे ।






















