काठमाडौं । नेकपा एमालेका नेताहरु पार्टीको अनुमति वेगर अबदेखि विदेश भ्रमणमा जान नपाउने भएका छन् । आइतबार बसेको एमाले सचिवालय बैठकले नेताहरुको विदेश भ्रमणबारे आचार संहिता बनाएको हो ।
महासचिव शंकर पोखरेलले पार्टीले बनाएको कोडअफ कन्डक्टमा जुनसुकै नेताले विदेश जानुपरेमा पार्टीको अनुमति अनिवार्य लिनुपर्ने बताए । पार्टीका केन्द्रीय कमिटीका नेताहरू, सांसद र मन्त्रीहरूलाई विदेश जानुअघि पार्टीलाई जानकारी दिनुपर्ने उनले जानकारी दिए ।
‘विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, कुन संस्थाले कुन प्रयोजनका लागि कार्यक्रम आयोजना गरेको हो भन्ने पर्याप्त जानकारी रहनुपर्ने’, महाचिव पोखरेलले भने, ‘विदेश गइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने भुमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि व्यवस्थित रिपोर्ट पेश गर्नुपर्ने छ ।’
विदेशमा हुने जुनसुकै कार्यक्रम पनि कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने कुरा स्पष्ट जानकारी गराउनुपर्ने एमाले निर्णयमा भनिएको छ ।