काठमाडौँ । काठमाडौँको टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो ।
आरोपीलाई खुट्टामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘पटेललाई उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ ।’
गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जना मध्ये डुड्डु एक हुन् ।’
उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ । २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो ।