नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौँ साधारण सभा बारा जिल्लाको कोल्हबीमा सम्पन्न भएको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभाले फोनिज मधेस प्रदेशको अध्यक्ष पदको जिम्मा पुःन बाराका दुष्यन्त चौधरीलाई दिइएको हो । भने सचिव पदमा बारा कै नविन चौधरीलाई चयन गरेको छ ।
फोनिज मधेस प्रदेशको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुष्यन्त चौधरी, उपाध्यक्षमा अनिता चौधरी र प्रियासिंह थारु, महासचिव पदमा ब्रिजमान तामाङ, संस्थागत सचिव पदका लागि नविन चौधरी, महिला सचिवमा पुनम चौधरी तथा कोषाध्यक्ष पदमा ज्योती लामा तामाङले जिम्मेवारी पाएका छन् ।
त्यस्तै सदस्यहरुमा जितेन्द्र चौधरी, शम्भु चौधरी, मनोज थापा मगर, उदय पाख्रिन, बुधन चौधरी, शम्भु महत्तो थारु, विवेक कुमार चौधरी, रोयटर मण्डल, लक्ष्मी चौधरी र पुजन प्रसाद थारुलाई चयन गरेका हुन् ।
उक्त कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान बनेपछि पनि देश पुरानै शैलीमा फर्किरहेको जिकिर गर्दै भन्नुभयो, “संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पूर्ण समावेशीता सम्भव भएको छैन।’’
सभामुख मण्डलले अधिकारका आन्दोलनमा जनजातिका मुद्दा पर्याप्त रूपमा उठाउन नसकिएको भन्नुहुँदै नेतामा इमानदारिताको अभाव रहेको आरोप समेत लगाउनुभयो। उहाँले भन्नुभयो, “नेतालाई विश्वास गर्यौं, तर उनीहरूले इमानदारिता देखाएनन्, जसका कारण समावेशीता पूर्ण रूपमा लागु हुन सकेन।’’
उहाँले संविधानले निर्दिष्ट गरेका मुख्य बुँदालाई उपेक्षा गर्दै कानुन निर्माणमा ध्यान केन्द्रित गरिएकाले संविधानको उचित प्रयोग हुन नसकेको उल्लेख गर्नुभयो। सभामुख मण्डलले समाजमा इमानदार व्यक्ति उपेक्षित भइरहेका र बेइमान प्रतिष्ठित बनिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले पत्रकारिताले जनताको आवाजलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ।
यस्तै मधेश प्रदेशका सांसद मन्जु थापामगरले सत्यतथ्य बाहिर ल्याउन र विषयको उत्थान गर्नमा पत्रकारिताले जोड दिनुपर्ने बताउनुभएको थियो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले फोनिजलाई अझ सशक्त बनाउन नीतिगत निर्णय लिनु आवश्यक रहेको बताउनुभएको छ। कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य सिकेन्द्र पसमान, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारालगायतले समावेशीताको विषयमा जोड दिनुभएको थियो। यसैगरी फोनिजका उपाध्यक्ष तथा रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक अमरध्वज लामाले आदिवासी जनजातिका मुद्दालाई फोनिजले सशक्त रूपमा उठाउने विश्वास व्यक्त गर्नुभयो।
फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले समतामूलक समाज निर्माणका लागि समावेशीताको पूर्ण पालना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले महासङ्घजस्तो मार्गदर्शन दिने संस्थाले स्वयं सही दिशा अपनाउनुपर्ने बताउनुहुँदै भन्नुभयो, “समाज निर्माणको यात्रा हामीले आफ्नै घरबाट सुरु गर्नुपर्छ।’’
साधारणसभामा प्रमुख अतिथि मण्डल, विशिष्ट अतिथि फोनिज संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, महासचिव समीर बलामी, मधेस प्रदेश साँसदहरु त्रिलोकी चौधरी, देवनारायण चौधरी मन्जु थापा मगर , कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा,फोनिज मधेस प्रदेश इन्चार्ज एवम् प्रेस सेन्टरका प्रदेश अध्यक्ष निरज पिठाकोटे , नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र् चौधरी , नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ , तामाङ पत्रकार संघका केन्द्रिय सदस्य राजु लो तामाङ लगायतकाले सुभ कामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा पत्रकारितामा योगदान दिएका गोरखापत्रकर्मीसहित चार जना पुरस्कृत भएका छन्। पुरस्कृत भएका पत्रकारहरुमा देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राससका बारा प्रतिनिधि सत्यप्रसाद श्रेष्ठ र सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आलेलाई प्रदान गरिएको फोनिजका मधेशका महासचिव बृजमान तामाङले बताउनुभयो।
यस्तै क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र सप्तरीका पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सह–सम्पादक सप्तरीका डम्बर राईलाई प्रदान गरिएको महासचिव तामाङले बताउनुभयो। उहाँले पुरस्कृत पत्रकारलाई १० हजार राशिसहित सम्मान गरिएको बताउनुभयो।
सो खुल्ला सत्रको कार्यक्रम संचालन फोनिज मधेस प्रदेश महासचिव बृजमान तामाङले गरेका थिए भने स्वागत मन्तव्य नेपाल आदिवासी जनजाती पत्रकार महासंघ रौतहटका जिल्ला अध्यक्ष बिजेन्द्र कुमार श्रेष्ठ (युभास) ले गरेका छन् ।