काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनी गरेको छ।
बबरमहलबाट र्यालीसहित उनीहरू माइतीघर मण्डला पुगेका थिए। राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनुपर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो।
प्रदर्शनका क्रममा पत्रकार, मिडिया कर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशागत संघ–संस्थाका व्यक्तिहरू को सहभागिता रहेको थियो। उनीहरूले विधेयक प्रेस तथा आमसञ्चार क्षेत्रका लागि घातक हुने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरे।
विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको प्रेस विरोधी नीति स्वीकार्य नहुने भन्दै स्वतन्त्र पत्रकारिता रक्षा गर्न निरन्तर संघर्ष गरिने बताएका छन्। प्रेस सेन्टर नेपाल ले आगामी दिनमा पनि विधेयक विरुद्ध थप दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।