कोल्हबी: लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मधेस प्रदेशमा आफ्नो सङ्गठनलाई थप बलियो बनाउँदै कार्य समिति विस्तार गरेको छ ।
पार्टीको संशोधित विधानअनुसार मङ्गलवार मधेस प्रदेश कमिटीको विस्तार गरिएको हो ।
नयाँ संरचनामा प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति गठन भएको छ । सोनलको अध्यक्षतामा रहेको कमिटीमा चार जना उपाध्यक्ष चुनिएका छन् । सिराहाका रामबाबु यादव, महोत्तरीका अरुण पाठक, धनुषाका राम ज्ञान मण्डल र रौतहटका विन्देश्वर यादवले उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, धनुषाका राम विनोद चौधरी मुख्यसचिवमा चयन भएका छन् भने सचिव पदमा पाँच जनाको मनोनयन भएको छ । रौतहटका ओमलोक पटेल, महोत्तरीका सरयुग यादव र राजेन्द्र सिंह कुशवाहा, साथै सिराहाका जलाइदिन राइन र राजकुमार महरा सचिव बनेका छन्। कोषाध्यक्षको भूमिकामा भने सर्लाहीकी प्रेम शिला यादवलाई जिम्मेवारी दिइएको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी कार्यकारिणी र प्रदेश समिति सदस्यहरू पनि चयन गरिएका छन् । जम्मा ७५ जना यस्ता सदस्यहरू छानिएका छन् । 























