कतारको जहाजबाट नेपाल आएका बाराको दुई जना क्वारेन्टाइनमा
बारा : कतार एयरवेजको विमानबाट चैत ४ गते नेपाल आएकामध्ये बाराका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै विना रोकतोक बारास्थित आफनो घर आएर बसेका उनीहरुलाई प्रहरीले क्वारेन्टाइनमा राखेको हो।
फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएपछि कतार एयरवेजबाट नेपाल आउने यात्रुको खोजी सुरु भएको थियो। उक्त फ्लाइटमा एक सय ५८ जना नेपाल आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई खोजी गरेर कलैया अस्पतालमा रहेको क्वारेन्टाइनमा राखेको छ। बारा प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार बारा बरेवा र बसतपुर घर भएका दुई जनालाई क्वारेन्टाइनमा राखिएको हो।
उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण सुरु गरिएको प्रवक्ता मिश्रले जानकारी दिएका छन्। पासपोर्टको नाम र नागरिकता नम्बरको आधारमा खोजी गर्न समय लागेको मिश्रको भनाई थियो। ‘हामीलाई सूचना आएलगत्तै खोजी सुरु गरेका थियौं। समय लागे पनि हामीले खोज्न सफल भयौ’ मिश्रले भने ‘सामान्य लक्षण नदेखिए पनि १४ दिन क्वारेन्टाइनमा राखिनेछ।’
कतार एयरवेजबाट नेपाल आएका यात्रुमध्ये बाराका समेत रहेको खुलेपछि सामाजिक संजालमार्फत उनीहरुलाई खोज्न अभियान थालिएको थियो। स्रोत अन्नपुर्ण पोस्ट