बिरुवा नष्ट गरेको झुट्ठो आरोप लगाउँदै कोल्हबी ५ का वडाध्यक्षलाई वन अधिकृतद्वारा हातपात
चेरवन्त खबर डेस्क
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित वन क्षेत्रमा लगाइएको बिरुवा नष्ट गरेको झुट्ठो आरोप लगाउँदै सो वडाका अध्यक्ष नन्दकिशोर चौधरीलाई वन अधिकृतद्वारा हातपात गरिएको छ । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहले दुर्व्यवहार गरेको झुट्ठो र आरोप लगाएर हातपात समेत गरी पक्राउ गरिएको स्थानियको आरोप रहेको हो । उक्त नगरपालिकाको सो वडा स्थित रामबन गाउँको उत्तरमा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गामा लगाईएको बिरुवा मास्नुमा वडा अध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडा अध्यक्ष चौधरीलाई पक्राउ गरेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ ।
वन क्षेत्रमा लगाइएको बिरुवा गए राती स्थानीयहरूले नष्ट गरेका थिए । रामबन गाउँका स्थानीयले प्रशासनको अगाडी नाराबाजी गरेका कारण निर्दोष रहेका वडाध्यक्षलाई पक्राउ गर्नु नपर्ने भन्दै आपत्ती जनाएका छन् ।
राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा रहेको वनको जग्गा भूमाफियाले अतिक्रमण गरेको र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने कुरा बताउँदै जनता तथा वडा बासीको सहयोगका लागि सतिसाल झै उभिएका वडा अध्यक्ष चौधरीलाई फसाईएको र निर्दोष व्यक्तिलाई जबर्जस्ती पक्राउ गरिएको रामबनका बासिन्दाहरुको भनाई रहेको छ । बन अधिकृत सिहले अध्यक्ष चौधरीलाई हातपात गर्दै सिमरा लगिएकोले रामबन बासिद्वारा प्रशासनलाई बिना सर्त छोड्न चेतावनी समेत दिएका छन् ।
वन अधिकृत सिंहका अनुसार वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र पक्राउ गरिएको दिन शनिबार बिदा भएकोले आइतबारको दिन बिशेष छलफल गरी रित पुर्वक छाडीदिने डिभिजन वन कार्यालयले जनाएको छ ।