कथा:- राहदानीको भिन्नताले मैले गुमाएको मेरो प्रेम
मनको सागर
दिराम अनि डलर बीचको आकाश-पातालजस्तो भाउका भिन्नताले होला, खाडी पसेका केटालाई छोरी दिन्न भन्नी बा-आमाले अमेरिका, अस्ट्रेलिया पसेको केटो भए, कुल खानदान पनि राम्ररी विचार नगरी कन्यादान गर्न तम्सिहाल्छन्।
यो चलिआएको चल्तीमा एक मेरी उनी थिईन । आजको उमेरसम्म यही भएर रोकिएकी थिईन कि युएई पसेको पल्लो गाउँको म सँग जिन्दगी कटाउने उनको सपना, बा-आमाका विशाल अनि आरामदायी आशा र सपनाका अगाडि एकदम भिन्न र गलत देखिन्थिन्।
६/७ वर्ष पहिले उनी लाई म मन पर्दा यी सब कुरा पनि हुन्छन् र यो समाजमा, यो शताब्दीमा? भन्नी लाग्थ्यो भनेर सुनाउने गर्थिन । हरेक दिन घरमा केटाको प्रस्ताव आउँदा आमा-बाले विदेशी नै खोज्ने र डिभी र पिआर बोकेको नै हुनपर्छ भन्दै गर्दा उनी भने उनका लागि पसिना बगाउन आफ्नो इच्छा मारेको म लाई झलक्क सम्झन्थिन ।
‘सानी, म तँलाई खुसी-खुसी पाल्न सक्दिनँ कि झैँ लाग्यो यो नेपालमा बसेर। बरु म युएई तिर हाकिन्छु’ भनेर खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने र रमाउने उमेरमा श्रम बेच्न तम्सिएको मेरो चोखो प्रेमलाई त्यो बिदेशका झिलमिल सहरका झिलमिल सपनाले लुट्छ कि भनेर निकै डर लागिरहन्छ भनेर सुनाउथिन। मलाई छोड्दिनँ भन्ने प्रण गरेकी उनि उनलाई छिमेकीको तानाले धेरै कसेको थियो।
उनलाई ‘उमेर त जान लाइसक्यो नि नानी, अब बिहे झट्टै गर्नुपर्छ’ भनिरहँदा यो समाज तथा आफन्तको अर्तीले पनि विष जसरी दिमाग र मनलाई पोलिरहन्थ्यो।
‘यत्तिको पढेकी छौ, आफ्नै खुट्टामा उभिएकी छौ, सकुशल र राम्रै छौ। तर पनि कसका लागि पर्खिएकी हौ? कसैलाई पर्खिएकी हौ भने घरमा भन्न सक्नुपर्यो, होइन भने अब बाको काँधमा यसरी बोझ भएर बस्नु राम्रो होइन’ भनेर हरेक दिन सित्तैमा सुझाव दिइरहँदा २/४ वर्ष अगाडिसम्म आँखाकी नानीजस्तै बनेकी छोरी अब उमेर अलि बढी भएपछि बोझ कसरी हुन्छे भन्ने सोच उनलाई नआएको कहाँ होर?
तर प्रश्न आफैमा जवाफजस्तै थियो। किनकि उ छोरी हो र उसले जन्मघर छोडेर जानै छ। जतिसक्दो चाँडो गएर अर्को घरलाई सम्हाली माइतीघरको इज्जत जोगाई जिन्दगीलाई जिउनु पर्छ। अनि बल्ल उनि छोरी हुनुको कर्तव्य निभाउन सफल हुन्छिन।
तर विडम्बना! ‘अझै २/३ वर्ष आउदिनँ है सानी, हाम्रो लागि एउटा सानो घर बनाउन सक्ने भएर आउँछु है?’ भनेको मेरो मलिन अनुरोधलाई सहर्ष स्विकार्दै आजै त म बिहे गर्दै गर्दिनँ भनेर एक्लै-एक्लै निर्णय गरिरहेकी हुन्थी।
कहिलेकाहीँ यसो केही पीडा भुलाउनका लागि बजार झर्दा पनि उनलाई साथीभाइ यसै होच्याउँथे। साथीभाइले पनि उनिलाई त्यो बेला मान्छेजस्तै सोच्दैन थिए । सँगैकी साथीको प्रेमी अमेरिकी भिसा बोकेकाले भिनाजु-भिनाजु भनेर सम्मान दिन्थेँ भने उनको मैले नमस्कार भनेर सम्मान दिँदा पनि खिस्साए झैँ गरेर नमस्कार भनेर क्यामेरा उनि तिर नै फर्काइदिन्थे। किन बुझ्दैनथे उनीहरू, राहदानीमा प्रेमको परिभाषा लुकेको हुँदैन भनेर।
विडम्बना! पैसाको मूल्यले मान्छेको भाउ घटाइदिँदो रहेछ।
त्यो चर्को घाममा एकोहोरो दिनरात नभनी दलिँदै गर्दा उसले हाम्रो लागि सोचेको छ भने म किन मेरो लागि मात्र सोच्ने? म पनि हाम्रै लागि सोच्छु बरु बाको काँधमा बोझ थप्दिनँ भनेर सहर गएर आफ्नो खुट्टामा उभिएर आफ्नो ज्यान सहित बा-आमाका बोझ नि कम गर्छु भनेर बासँग उनले अनुरोध के गरेकी थिईन झनक्क झर्किँदै ‘उनका बाले अब पनि सहर पैसा र रहरका कुरा, यो उमेर अब घरजम गर्ने उमेर हो। अब बिहे गर्ने अनि उतै गएर आफ्नो घर सम्हाल्ने’ भनेर चर्को आवाजमा बोल्दा उनको मन एक्कासी यसै निसासिएको थियो।
भोलिपल्ट बिहानै झिसमिसे उज्यालोमा घरभरि टन्न मान्छे देखिँन उनले । कुरा के थियो भन्ने बुझ्न नपाउँदै छेउमा बसेको दाइले उनको जिन्दगीलाई अरुलाई नै सुम्पिने कुरा भइसकेको भनेर उनलाई सुनाइरहँदा हतार-हतार भित्र पसेर उनले मलाई कल गरिँछिन। मेरो फोन लागेन छ । सायद म कतै काममा पिसिरहेको थिए होला । अनि मेरो साथीलाई कल गरेर ‘मलाई कल गर्न भन्दिनु न’ भन्दै गर्दा नै बाले उनको फोन थुतेर मेरो साथीलाई नै थर्काउँदै ‘अब यो नम्बरमा कल नआओस्’ भने छन् यो घटना पछि अन्ततः उनी हारिन र जिन्दगीमा त्यसपछि कहिल्यै उनले जित्नै सकिनँन्।
उनले भनेको इच्छा र खुसी विपरीत ठाउँमा बस्दा पनि आफ्नै काजकृयामा आफै बसेकोजस्तै भान हुँदो रहेछ रे । अन्तिममा बाले १० वर्षले जेठो उनको अबको श्रीमानलाई मारे पाप पाले पुण्य भन्दै गर्दा, उनको मन मार्दा चाहिँ बा कहाँनिर खुसी भएछन् भनेर प्रश्न गर्न मन थियो रे तर अफसोच! लगाम लगाएको घोडाजस्तै थिँईन उनी परिवारले जता-जता बाटो देखाउँछन् उतै-उतै हाँकिनुपर्ने। अब उता घर गएपछि उनलाई एउटा कुराले झन् पिरल्न थाले छ , घरको उनको कान्छो देवर र उनको श्रीमानमा देखेको भिन्नताले।
खाडी पस्न लागेको उनको दवरलाई घरबाटै बिदाइ गर्ने आफ्नै आमा-बाले अमेरिका जान लागेको उनको श्रीमान का लागि आँसु खसाल्दै एयरपोर्टसम्म पुर्याउन गएको देख्दा उनको मनले यही सोच्थ्यो- घर-घरबाटै भिन्नताको उत्पति भएको छ, मैले बा-आमासँग के गुनासो गर्नु र? अनि विस्तारै उनले मनलाई बुझाउँदै गईन।
जब उनको श्रीमान् विदेश लाग्नु भयो। उनको मनमा पुराना कुराहरूले फेरि मन बिथोल्न आउन थालेछ । उनिले सोच्न थालिछिन , उनको विवाहको खबर म सम्म त पक्कै कसैले पुर्याइदियो नै होला, त्यसपछि मलाई मनमा के लाग्यो दुई/चार कुरा पनि सुन्न नपाउने म कति अभागी? म कहाँ छु? के गर्दै छु कुन हालतमा छु ? भनेर खबर सोध्नसम्म आँट बटुल्न नसकेर उनी मनोरोगी भएर घरमै आत्म हत्या गरेको खबर एक्कासी सुन्दा मेरो मन भक्कानिएको थियो।
घर बनाउ अनि संगै बस्ने जीवन भर है भनेर मलाई परदेश पठाएकि उनी किन बाच्नु भनेर आफ्नो भरसम्म लाग्न नसक्ने भएर आत्महत्या गर्नु परेको कुराको कारण यो समाज र समाजको भिन्नता गराउने सोच थियो , मलाई सबै थाहा भयो यो सबै कुरा । तर के गर्नु? म बाध्यतामा यसरी बाँधिएको थिएँ कि फर्केर एक पटक आफ्नो जीवनमा माया गर्ने मान्छे र खुसीको बारेमा सोच्नसम्म पाइनँ उनलाई एक पटक देख्न सम्म पाईन। छोरी त सौभाग्य हो भन्नेले छोरीकै इच्छाहरूलाई मारिरहँदा किन एक पटक फर्केर सोच्दैनन्? यो सबै मातापितामाथि म अनि मजस्तै खाडि आएका को एक प्रश्न।
के साँच्चै छोरीको खुसीको अगाडि राहदानी र औकात ल्याउनै पर्छ र?
के जात र कुल खानदानमा विवाह गरिदिए छोरी खुसी हुन्छे भन्ने निश्चित हुन्छ र?
हुन्छ भने आजभोलि दिनहुँ घटिरहेका घटनाहरूका बारेमा केही सोच्नुभएको छ?
जीवनको कुनै भरोसा छैन, दुई पल खुसी भएर बाच्ने त हो। यही जिन्दगीमा पनि कसैको प्रेमलाई छुटाएर आफ्नो निर्णयमा सन्तानलाई चलाउन खोज्नु कतिसम्म सही हो? एक पटक आफै त्यो स्थानमा बसेर हेरिदिए सजिलो हुने थियो। प्रेमको परिभाषा हुँदैन र प्रेमका अगाडि पैसा र राहदानी आउँदैन, यति कुरा बुझ्न जरुरी छ। यहि राहदानी को भिन्नताले मैले मेरो प्रेम सधैको लागि गुमाए ।
लेखक :- मनको सागर
मेरो सबैमा अनुरोध ,कृपया यो कथा काल्पनिक हो कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ । यति समय दिएर पढ्दिनु भएको मा आभार।